काठमाडौं, ८ भदौ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ (एफ.एन.एन.टी.ई) ले चाडपर्वको पूर्वसन्ध्यामा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्न सरकारसँग माग गरेको छ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले एक विज्ञप्ति जारी गर्दै पेट्रोलियम पदार्थको मूल्यवृद्धिले जनतालाई चाडपर्वको समयमा राहत दिन सरकारसँग आग्रह गरेको छ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घट्दै गएपछि सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाउनुपर्ने महासंघको माग छ। ‘अन्तर्राष्ट्रिय बजारमा तीन पटक मूल्य घट्दा नेपाल आयल निगमले पुरानो मूल्यसूचीनै कायम राखेको छ,’ महासंघले विज्ञप्तिमा भनेको छ।
अन्तर्रा्ष्ट्रिय मूल्यमा गिरावट आएपछि मूल्यसूची यथावत हुनु दुर्भाग्यपूर्ण रहेको महासंघले जनाएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘कोभिड–१९ को महामारीका कारण ठूलो आर्थिक नोक्सानी भोगेको सार्वजनिक यातायात क्षेत्रले नोक्सानीमा राहत पाउनुको साटो इन्धनको मूल्य समायोजनको लागि नाराबाजी गर्नुपरेको छ।
महासङ्घका अध्यक्ष विजयबहादुरले सवारी साधन कर, बैंकको ब्याज, रुट परमिट शुल्क, सवारी साधनको परीक्षण बीमा र मोटर इन्जिनमा अस्वभाविक वृद्धिले यातायात व्यवसायी ठूलो मारमा परेको बताए। अन्तराष्ट्रिय बजार अनुसारको मूल्य छिटो परिमार्जन गर्नुपर्ने उनको भनाइ छ।



